Jump to content

User:Dpangeni

From Wikipedia, the free encyclopedia

: नेपाली लोक गायक

चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा अब परिचय दिईरहनुपर्ने नाम रहेन । लोक गीतको क्षेत्रमा अहिले चर्चाको शिखरमा पुगेका गायकका पिताको छोरालाई डाक्टर बनाउने सपना थियो । तर उनको आफ्नै सपना भने कलाकार बन्ने थियो । परिवारको इच्छा विपरीत उनी गायनमा लागे । उनका बाबुको ईच्छा थियो कि आफु बुढो भएर बिमारी हुँदा छोराले रक्तचाप नापोस र ओखती सिफारिस गरोस तर बुवाको सपना थाँती राखेर आफ्नो सपनाको बाटो पहिल्याउन लागि परेका शर्मा आफैले बनाएको परिचय आज धेरैको सपना बन्न पुगेको छ ।

हुन त अचेल पशुपति जमिनमा कम जहाजमा बढी भेटिन्छन । जहाँ जान्छन त्यहाका दर्शक श्रोतालाई पूर्ण मनोरन्जन प्रदान गर्न कुनै कसर बाकि राख्दैनन् । उनको कलाकारिता, गायन र लोकप्रियता अनि व्यस्तता, कमाइ र सादगी देखेर उनकै बाटोमा हिड्न चाहने हरु धेरै छन् ‌‍‍‍ । मलाइ अमेरिका यहि भन्ने गीतले थपेको उनको उचाईलाई लोक सांगीतिक क्षेत्रले निकै ठुलो सम्मान प्रदान गरेको छ ।

बाल्यकाल: २०४० साल कार्तिक चौध गते स्याङजाको पुतली बजारमा जन्मिएका पशुपति शर्माको बाल्यकाल पुतली झैं गाउँमै रमाएर बित्यो । बिद्यालय तहको पढाई स्याङ्जाको पुतली बजारमै बिताएका उनी सानामा साह्रै चञ्चले थिए । तीन दिदी तथा एक दाजुका कान्छा भाइ उनी सबैको माया पाएर होला अलि बढि बदमासी गर्थे । आज पुराना दिन सम्झिँदा उनलाई कलाकार हुन सानैबाट चञ्चले हुनुपर्दो रहेछ जस्तो लाग्छ ।

गाउँको जीवनशैली घरमा कहिलेकहिँ आटो ढिडो पनि पाक्थ्यो । त्यो दिनको उनलाई अहिले सम्म ताजा सम्झना आउछ । आमाले अन्तिममा भात खाएर बाहिर चुठ्न निस्कनु पर्छ है भन्नु हुन्थ्यो । तर, उनी ढिडोको ढल्लै हातमा लिएर खाँदै बाहिर निस्कन्थे । खाएको पनि लुकाएर हुन्छर, देखाएर खानुपर्छ भन्ने हक्की स्वभावका कारण उनी त्यसरी बाहिर आएको आज पनि सम्झिन्छन् ।

खेतबारीमा काम गर्न आउने खेतालाई लाई पनि उनी हसाएर काम गर्नै नसक्ने बनाउँथे । उनकी आमाले हरेक सिजनका खेताला लगाउने बेलामा ‘बरु तँ काम नगर कान्छा खेताला नभुला है’ भन्नु हुन्थ्यो । तर, आमाले भनेर उनलाई कहाँ लाग्थ्यो र उनी खेतमा उट्फट्याङ गरेरै छाड्थे ।

सानामा उनले आफ्ना बाबु आमालाई खुब सताएका छन् । गाली त कसैले गर्नै हुदैनथ्यो, उनी झन धेरै निहुँ खोज्थे उनलाई जति गल्ती गरेपनि फकाउनु पर्थ्यो । अहिले उनको यो सम्पूर्ण गुण उनकी छोरीमा सरेको छ । स्कुलमा सधै प्रथम हुन्थे तर उनी स्कुल जान भने खुब अल्छि थिए । उनले स्कुल नजानका लागी घाँसको डोको फाल्ने, लुक्ने, सुतेर उठ्दै नउठ्ने लगायतका विभिन्न बदमासी गरेका छन् । आमाले अनुशासित हुनुपर्छ छोरा भनेर सिकाएको कुरा उनी स्कुलमा चाहिँ सधैं सम्झन्थे । स्कूलमा राम्रा विद्यार्थी थिए । उनि स्कुल बिचैमा छोडेर कहिल्यै भागेनन ।

राजधानीमा आगमन: एसएलसीको पढाई सकेर शर्मा राजधानी पस्दा सोह्र वर्षका थिए । एसएलसी पछि दाजुको सर्टको फेरो समातेर राजधानी पसेका शर्माका सुरुका दुइ वर्ष दाजु रेखदेखमै बित्यो । त्यसबेला उनका दाजु डाक्टरी पढ्दै थिए । उनलाई त्यो समय उनका पिताको ‘दाइ डाक्टर पढ्ने मान्छे हो उसले धेरै पढ्नु पर्छ दाजुको लुगा धुने, भात पकाउने काम तैंले गरेस है’ भनेर फोन आउँथ्यो । उनलाई पनि त्यस्तै लाग्थ्यो दाजु चौबिसै घण्टा किताव पढिरहेका हुन्थे । उनी सोह्र वर्षका हुँदा उनका दाजु अठार वर्षका थिए । दाजुलाई डाक्टर बनाउने बाबाको सपना पुरा गर्न उनले कति योगदान गरे त्यो समयले मुल्यांकन गर्ला तर काठमाण्डौ आएको दुइ बर्ष उनले खाना पकाउने लुगा धुने गरेर दाजुको पढाइमा सहयोग गरे ।

दोहोरी रेष्टुरेन्टमा प्रवेश: पशुपति शर्मा जीवनका रंगीन सपना फुलाउने बेलामा पनि गायनमा अन्धो भएर लागे । किशोर वयको सुरुवाती समयमा दोहोरी साँझमा पुगेका उनको संगत अग्रज गायक गायीकाहरु सँग भयो । दोहोरी साँझको संघर्ष बाटै उनले बुझेका हुन् सांगीतिक फाँटमा कब्जा जमाउनको लागी के के गर्नु पर्छ भनेर । अहिले समय मिल्दैन नत्रभने अहिले पनि दोहोरी सांझलाई उनि उत्तिकै सम्मान गर्छन आफ्नो क्यारियरको सुरुवात मात्र नभएर कोशेढुंगा पनि हो दोहोरि साँझ उनको लागी ।

उनका गीत सुपर हिट भैसकेको समय सम्म पनि उनि दोहोरीमा आवद्द थिए । त्यसो त उनी आज गायनमा जुन स्थान बनाएका छन् त्यो स्थान बनाउँला भनेर यो क्षेत्रमा लागेका थिएनन् । एउटा गीत रेकर्ड गर्ने र गायकको सूचीमा आफ्नो नाम लेखाउने मात्रै उनको सपना थियो । तर, उनले सुरुमा निकालेको गीत नै सबैको रोजाइमा परेपछि उनले कहिल्यै पछाडि फर्किनुपरेन् । त्यसरी गीत सुपरहिट हुनुमा दोहोरि साँझको योगदान लाइ उनि कहिल्यै भुल्न सक्दैनन् ।

गायनका सुरुवाती संघर्ष: गायनमा लाग्दाका सुरुवाती दिनमा उनलाई गायनमा संघर्ष गर्न निक्कै गाह्रो भयो । गीत गाउने कुरामा परिवारको समर्थन थिएन । हुन त गायनका सुरुवाती दिनमा उनी परिवारलाई नभनी लुकिछिपी हिँड्थे । कुनै समययस्तो थियो उनी कजेलमा काम छ भनेर घरबाट निस्कन्थे र विभिन्न दोहोरि प्रतियोगिता हुने कार्यक्रम हरुमा गीत गाउन पुग्थे । त्यहि समयहो उनका पिताले उनलाई गाउँदा गाउँदै स्टेजमा भेटेका थिए । त्यो दिन उनी प्रथम भए, तर प्रथम भएको खुशीभन्दा उनी घरमा अब बा लाइ के भनेर आफु गीत गाउन थालेको कुरा सम्झाउने भन्नेमा बढी चिन्तित हुनु परेको थियो । त्यो समय उनलाई आमा र दाइले विशेष गाली गर्नु भएको थियो र उनले घर बाट थप कडाईको सामना गर्नु परेको थियो ।

पशुपति जुन समय गायनमा आएका थिए त्यो बेलामा उनलाई यो क्षेत्रमा सहयोग गर्ने उनले चिनेका कोहि थिएनन् । अर्को कुरा उनी आफैंमा पनि कुनैपनि किसिमको सांगीतिक ज्ञान थिएन । राजधानी बसाइका दुइ वर्षपछि दोहोरी साँझमा गाउँन थालेका पशुपतिलाई पहिलो एल्वम निकाल्ने बेलामा उनका अग्रजहरुले उनलाई एल्वम ननिकाल्न सुझाव दिएका थिए । तिमीले गाउँने होइन, तिमीले गाएर हुँदैन भन्दाभन्दै पनि एकोहोरो ढिपीले अल्बम रेकर्ड गराएका थिए । सौभाग्य नै मान्नुपर्छ “टलक्कै ऐना टल्कियो” गीतले उनलाई गायक हरुको सुचिमा स्थापीत गराईदियो ।

थुप्रै पटक राष्ट्रिय लोक गायनमा प्रथम बनेका उनलाई गायनका सुरुवाती दिन सम्झदा आज कसरी त्यति धेरै सघर्ष गरें हुँला भन्ने लाग्छ । आफू पटक पटक मरेर कलाकार बनेको बताउने उनले गायनमा सबैको माया पाएकाले पनि ति सबै संघर्षलाई बिर्सिएका छन् ।

बाबु आमाको चिन्ता र बिबाह: पशुपति शर्माको अगाडी यौटा ठुलो चुनौती थियो । कलाकार हरु छाडा हुन्छन उनीहरुको ईज्जत हुदैन भनेर चर्चा चल्ने समयमा कलाकार हरु पनि ईज्जेतिला हुन्छन उनीहरु पनि सामाजीक मान मनितोमा रहन्छन भनेर प्रमाणित गर्नु थियो । अन्त नभए पनि आफ्ना बा आमाको नजरमा त त्यो प्रमाणित नगरी भएको थिएन । उनका दाजु दिदी सबैले बाबुआमाले भने जस्तै गरे, समाजको ईजत राखेर बिहेवारी गरे । तर उनी त बाबुआमाको सपनाको बाटो गलत्याएर गायन क्षेत्रमा आएका । उनी घर जाँदा हरेक पल्ट तँ बिग्रिस भन्ने कुरा हुन्थे । उनी आमालाई छोराले गीत गाएकोमा भन्दा छोराले कस्ती केटी बोकेर अचानक घरमा ल्याउनेहो भन्ने चिन्ता थियो । गाउँमा पनि उनको कुरा काट्ने ठूलै जमात थियो । त्यस हिसावले पनि कलाकारहरु पनि अनुशासित हुन्छन् है भनेर प्रमाणित गर्नु थियो । सँगै उनलाई पढ्नु पनि थियो । उनले मास्टर पनि गरे र आमा बाबुकै रोजाइमा पर्वतकी रेखा शर्मासँग मागी विवाह गरे ।

गीत संगीत सँग रेखाको खासै लगाव होइन । तर, उनले जीवन संगीनिबाट चाहिँ गायनमा राम्रो साथ पाए । उनका क्याम्पस पढ्न आउनी पछि सबै गीत उनका विवाह पछि चलेका हुन । त्यसैले पनि उनलाई जीवन संगीनि फापेकी हुन जस्तो लाग्छ । उनी कहिले काहिँ त महिनामा दुइ दिनपनि रेखाका लागी छुट्याउन सक्दैनन् । र पनि उनकी जीवन संगीनिले उनको पेशालाई आत्मसाथ गरिन कहिलै गुनासो गरिनन् । उनकी श्रीमतीसँग सधैं साथीको व्यवहार रह्यो । कहिलेकहिँ साथी सँगी सँग जस्तै झगडा पनि पर्छ ।


व्यापारिक पृष्ठभूमि भएको परिवार बाट कलाकारको घरमा भित्रिन आइपुगेकी रेखालाई पशुपतिको तत्कालीन अवस्थामा एडजस्ट हुन गाह्रो त परेकै हो तर पनि एक किसिमको परिक्षा जस्तै थियो त्यो समय दुवै जनाको लागी । पशुपतिले पनि आफ्नो जिम्मेवारी राम्रो संग निभाए र रेखाले पनि आफ्नो धैर्यतालाई मजबुत पारिन फलस्वरूप उनीहरुको जिन्दगीको सुनौलो समय सुरु भयो । बिहे पछाडी धेरै नै जिम्मेवार हुनुपर्ने अनुभव पशुपतिले पनि संगाले र रेखाले पनि सानातिना चुनौती हरु संग डराउने हो भने हारिन्छ भन्ने बुझिन । अहिले उनीहरुको परिवार लोक कलाकारिता क्षेत्रमै उदाहरणीय परिवार बनेको छ । एक छोरी एक छोरा जन्मेकाछन अहिले ।

राजनैतिक बिचार: राजनीति उनलाई खासै मन पर्दैन । राजनीति भन्दापनि त्यो भित्रको फोहोरी खेललाइ उनि भित्रै बाट घृणा गर्छन । राजनीतिमा चासो नै नभएको होइन । उनि सचेत नागरिकको नाताले राजनीतिमा चासो राख्नुपर्छ भन्छन । उनी सचेत मतदाता हुँ भन्न रुचाउछन आफुलाई । अग्रज र समकालीन साथि हरु राजनीतिमा खुलेरै लागेको देखिरहेका छन् त्यसमा उनको भन्नु केहि छैन सबैका आफ्ना आफ्ना स्वार्थ हरु हुन्छन त्यहि स्वार्थले कलाकारलाई दलको कार्यकर्ता बनाइदिन्छ । कलाकार राष्ट्रको गहना हो भन्ने मान्यतामा बिश्वाश गर्ने भएर होला कुनै दल बिशेषको कार्यकर्ता बन्ने रहर पलाएन त्यसैले खुलेर कुनै दलको समर्थन आजसम्म गरेका छैनन् । बौद्दिक स्तरका नेता हरुमा बाबुराम भट्टराई, प्रदिप गिरि, प्रदिप ज्ञवाली नरहरी आचार्य जस्ता नेता हरु बाट प्रभावित छन् उनी । युवा नेता हरुमा गगन थापा, योगेश भट्टराई, गोकर्ण बिष्ट जस्ता जुझारु नेता हरु मन पर्छन । ति नेताहरु प्रति उनि आशावादी पनि छन् ।


लोकगीतको आधुनिकताका बारेमा: लोक गीतमा आएको परिवर्तनको बारेमा बजारमा निकै चर्चा चल्ने गरेको छ । खास गरि लोक गीत संगीतको क्षेत्र दुइ किसिमका मान्छे हरुको बाहुल्यता रहेको हुन्छ । संसार भरिनै हुन्छ त्यस्तो । एकाथरी लोक संगीतका साधक हरु हुन्छन जो लोक संगीत लाइ पुरातन शैली मै जगेर्ना गर्नुपर्दछ भन्ने मान्यता राख्दछन अर्का थरि हुन्छन जसरि हुन्छ त्यो पुरातन मान्यता भत्काउन खोजिरहेका हुन्छन । कतिपय कलाकारले लोक र आधुनिक गीत बिचको भिन्नता या भेद नबुझेर पनि आफुलाई लोक कलाकार भएको दावी गरिरहेको पनि देख्न सकिन्छ । खास गरि लोकगीतमा आधुनिकताको प्रवेश र त्यसको बैधानिकताको बिषय निकै फराकिलो बिषय हो यसमा एक किसिमको बहस या कुनै सोधको आवस्यकता देख्दछन उनी ।

पुरातन तरिकाले लोक गीतको संरक्षण गर्न जुट्नु भएका साधक र नया तरिकाले लोक गीतको जगेर्नामा लागिपर्नु भएका नयाँ साधक हरुको बिचमा रहेको मत भिन्नता साधारण सैद्दान्तिक बिबाद मात्र हो । रेकर्ड गर्ने बित्तिकै प्रत्यक्ष दोहोरीको परम्परागत स्वरूप त बिग्रिसकेको हुन्छ तर भाकाको जगेर्ना खातिर रेकर्ड अनिवार्य भईसकेको छ । नयाँ बाजाको प्रयोग सर्व स्वीकार्य भई सकेको छ । यसबीचमा लोक गीत भनिएका केहि भाका हरुमा बिबाद हरु देखिनु अथवा लोक गीतको वास्तविक स्वरूप बिगारेर नया पुस्ताले बजारमा गीत ल्याउदा पुरानो पुस्ताले चित्त दुखाउनु लाइ सामान्य रुपमा लिन्छन उनि । समय संग सस्कृति र सस्कृति संग सास्कृतिक परिचय पनि फेरिने क्रममा छ । जसरि समाज फेरिदै जान्छ त्यसरी नै समाजका गीत हरु पनि फेरिदै जान्छन यो क्रमिक बिकाशको सिद्दान्त जस्तो लाग्छ रे पशुपति लाइ ।

पर्दाको यात्रा: एक समयको कुरा हो उनी गाउँ जाँदा टेलिभिजनमा उनको गीत बजिरहेको थियो । गीतको म्यूजिक भिडियोमा किरण केसी ‘रातामकै’ले अभिनय गरेका थिए । उनले उनका बुवालाई खाना खान बोलाउँदा बुवाले भनेका थिए‘पख न यहाँ राता मकैले गीत गाउँदै छ, सकेपछि आउँछु’ । त्यसपछि उनलाई आफूले गाएको गीतमा आफैंले अभिनय गर्नु पर्ने रहेछ भन्ने लागेको थियो । पछि अभिनयमा पनि उनलाई धेरैले रुचाए । त्यसयता आफ्ना प्रायः गीतमा उनी आफले अभिनय गरेका छन् । अभिनय गर्न सुरुमा अफ्ट्यारो भए पनि शंकर बिसी, प्रकाश भट्ट लगायत साथि हरुको सहयोगले उनले आफ्ना गीत हरुमा खुलेर अभिनय गरेका छन् । मलाइ अमेरिका यहि भन्ने गीतमा उनले प्रस्तुत गरेको सन्देशमुलक बिषय बस्तु र देविका केसी र उनले गएको जातीय जनचेतना सम्बन्धित तीजको गीतमा उनले गरेका अभिनय उनलाई मन पर्छन ।

बिबाद र पशुपति: बिबाद उनलाई पटक्कै मन पर्दैन । बिबाद बाट टाढै बस्न रुचाउने उनलाई बिबादले भने पच्छ्याइरहेको हुन्छ कहिलेकाँही । खास गरि दुइतिन वटा बिबाद भए जुन नहुनु पर्ने थियो । केहि दर्शक श्रोता हरुको यौटा तप्काबाट उनको आलोचना पनि भयो तर अलि फरक खाले र बौद्दिक समुहबाट उनको हिम्मतको कदर पनि गरियो । पहिलो बिबाद नेपाली दोहोरी संस्कृति सम्बन्धि बिद्यालय स्तरीय पाठ्यक्रममा उनको गीत समाबेस भएर छापिएर आउदा उनको गीत बिबादमा पर्यो । केहि व्यक्तिले त्यो गीत पाठ्यक्रममा पर्नु हुदैन समेत भने पत्रिका हरुले उरन्ठेउलो गीत पाठ्यक्रममा पारियो भनेर आलोचना गरे । त्यो पुस्तकमा त्यो गीत कसले राख्यो र कसले सिफारिस गर्यो यो बिषयमा भने अहिले सम्म पनि पशुपति अनभिज्ञ नै छन् पछी पाठ्यक्रम बाट त्यो गीत हटेको पनि पत्रिका पढेरै थाहा पाए उनले । त्यो बिबाद जसरि उठेको थियो त्यसरीनै सेलाएर गयो त्यो कुरामा उनि प्रत्यक्ष सामेल हुनु परेन ।

दोश्रो बिबाद चाहि जातीयता सम्बन्धि थियो । “अन्तरजातीय बिबाह” लाइ मान्यता दिनु पर्छ भन्ने सन्देशका साथ् उनले ल्याएको त्यो तीज गीतको मुख्य मर्म बुझ्न तिर नलागेर केहि जातीय संगठन हरु र जातीय अधिकारकर्मी हरु उक्त गीतको बिरोध गर्न मरिमेटेर लागिपरे । उनलाई त्यो गीतको ब्यापार र चर्चा भन्दा सामाजिक सद्भाव प्यारो थियो त्यसैले आफ्नो गीतले कुनै पनि सामाजिक दुर्घटना नगराओस अथवा सद्भाव नबिथलोस भनेरै डिजिटल लगायत सम्पूर्ण प्लेटफार्म हरुबाट आफ्नो गीत फिर्ता गरेको घोषणा गरे । त्यो गीत सुनिसकेपछि प्रसिद्द विश्लेषक आहुतिले यौटा लेख नै लेखेका थिए । जातीय विसंगति माथिको सबै भन्दा शक्तिशाली प्रहार गरेको छ त्यो गीतले भनेर आहुतिले गीतको समर्थन गर्दा उनलाई खुशी लागेको थियो तर त्यो अगावै उनले गीत फिर्ता गरिसकेका थिए । केहि समय चर्किएर त्यो बिबाद साम्य भएर गयो ।

आरोप उनलाई  : तिजका गीतमा पुरुष स्वर रहनु हुदैन भन्ने हरुले पनि उनको विरोध गर्ने गरेका छन । हुन त उनले गाउन सुरु गर्नु अगाडी नै अग्रज पुरुष गायक हरुले तिजका गीत रेकर्ड गराईसकेका थिए फेरीपनि उनलाई आरोप लगाउनेको कमि छैन । उनले ति आरोप सहन्छन । उनलाई अर्को आरोप चाहिं तिजका गीत हरुमा रत्यौली गीतका भाका हरु मिसाएको भनेर लगाउछन मान्छे हरु । उनले त्यो कुरालाई अस्विकार गर्छन । गाँउघरमा बर्षौं अगाडी देखी गायीदै आएका भाका हरुलाई जस्ताको तस्तै उतार्दा अथवा अलीकती फरक पाराले मिठास थपेर प्रस्तुत गर्दा कुनै कुनै लय हरु रत्यौलीमा गायीदै आएका भाका जस्ता बने होलान अथवा त्यस्तो सुनियो होला तर ठ्याक्कै यही भाका रत्यौलीमा मात्र गाउन पाउने भाका हो भनेर ठोकुवा गर्ने कुनै आधार छैन त्यसैले शब्दमा शालीनता राख्दै चलन चल्तीमा रहेका जुनसुकै भाका कलाकारले गाउनु पर्छ भन्ने उनको मान्यता रहेको छ ।

गायीका हरु संगको संगत: उनी सधै फरक गायीका संग गीत निकालिरहेका हुन्छन । अग्रज गायीका देखि नव प्रवेशी गायीका हरु सबै संग गीत गएको अनुभव छ उनी संग । उनले कोमल ओलीको लागी गीत पनि बनाए । उनको गीतको आशय जस्तो थियो कोमल ओलीको राजनैतिक यात्रा पनि उस्तै उस्तै हुदै गईरहेको छ । कोमल ओलीलाई बिहे गर्ने रहर छोडेर राजनीति गर्न सुझाउदै गीत पनि गाए शर्माले भने ज्योति मगरलाई लामा कपडा लगाउ अंग प्रर्दशन नगर भन्ने संदेश सहितको गीत बनाएर संगै गाउन भ्याए । गायीका राधिका हमाल संग गीत गाएर सुरु भएको उनको गायन यात्रामा दर्जनौं गायीकाहरु जोडिन आइपुगे । कसै संग दोहोर्याएर काम गरे कसैसंग यौटा गीत गरेपछि पुनः काम गर्ने मौका मिलेन । कोमल ओली, रिता थापा, राधिका हमाल, टिका पुन, देविका केसी, निशा सुनार, जानकी तारामी मगर, कला पंगेनी, मन्जु पौडेल, रमिला न्यौपाने लगायत धेरै गायीका हरु संगका उनका गीत हरु हिट भएका छन् ।

हिट गीत हरु: पशुपतिले रेकर्ड गराएका प्राय गीत हरुले चर्चा पाएका छन् । साह्रै नै चलेन भनेर गुनासो गर्नुपर्ने गरि गीत अलपत्र परेको छैन । राधिका हमाल संगको ‘टलक्कै ऐना टल्कियो’, ‘क्याम्पस पढ्न आउनी’, रमिला न्यौपाने संगको ‘झम झम दर्कियो पानी’ जस्ता गीत हरुले लोक दोहोरी क्षेत्रमा राम्रो चर्चा पाए ।

सिता केसी संग गएको “मलाइ अमेरिका यहि”, मन्जु महत संगको ‘गौतम बुद्द कहाँ जन्मे नेपालमा’, कला पंगेनी संगको ‘जोगाउनु छ कालापानी’ जस्ता सन्देशमुलक र देश भक्ति दर्शाउने गीत हरु धेरै चर्चामा रहे ।

परम्परागत भाका हरुमा रिता थापा संगको रोइला “यत्ति बानि सुधार” मंजु पौडेल संगको दोहोरि घम्साघम्सी रोइला र निशा सुनार संगको “काली रैछौ कौवा झैं” निकै चर्चित भएका गीत हरु हुन् । महिला पुरुष बिचमा खेलीने दोहोरी गीतलाई उनले पुरुष पुरुष बिचमा खेलिन सकिने पनि बनाए । गायक रमेश राज भट्टराई र पशुपति शर्माले गएको दोहोरी “क्रिकेट खेल्न जान्छु” सुपर हिट भएको थियो ।

तीज गीत हरुमा टिका पुन संगको ‘जाम भने जान्छौ र माया पोखरा फेवाताल घुम्नलाई’ जानकी तारामी मगर संगको पानीपुरी सिरिज, सम्झना भण्डारी संगको “बत्ति बाल्नै पर्दैन” लगायत बर्षेनी आउने उनका दर्जनौं तीज गीत हरु सुपर हिट हुने गरेका छन् । बर्षेनी संख्यात्मक रुपमा तीज गीतको बढोत्तरी भएको कारण अहिले भने उनले निकै थोरै तीज गीत बनाउने घोषणा गरेका छन् ।

संस्थागत संलग्नता: देश भित्रका मात्र नभएर संसारभर छरिएर रहेका लोक कलाकार हरुलाई एकताबद्द गर्दै यौटै छाता मुनि गोलवद्द गर्ने उद्यश्यले स्थापित संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा आवद्द शर्मा बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष हुन् । अब आउने कार्यकालमा बरिष्ठ उपाध्यक्ष र त्यस पछिको कार्यकाल अध्यक्ष हुने योजना अनुरुप संस्थागत काममा पनि खटिरहेका छन् ।

अन्त्यमा: अध्यनमा निकै रुची भएका पशुपति पुस्तकका संग्रहकर्ता जस्तै भएका छन् अचेल । साथि भाइ भनेपछि हुरुक्कै हुने पशुपति कामको चापले साथि हरुको संगत बाट पनि अलि टाढा नै छन् । पढ्न मन लागेको पुस्तक समय निकालेर पढ्न नसक्नु र आफ्ना दौतरी हरुको रमाइलोमा सामेल हुन लाइ समय निकाल्न नसक्नु उनलाई दुख लाग्ने बिषय हुन् । चाहादा चाहादै पनि छुटेका यस्ता कुरालाई कसरि म्यानेज गर्ने होला भन्ने सोचाइ उनको मनमा आइरहन्छ ।

स्टेजको प्रस्तुति सजिलो जस्तो देखिन्छ बाहिर बाट हेर्दा तर निकै मेहनतको काम हो स्टेज प्रस्तुति । सुरु सुरुमा स्टेजमा समय थोरै पाएको यौटा दुइटा मात्र गीत गाउन पाएको बिषयमा चित्त दुखाइ हुन्थ्यो उनको अहिले भने जति छोटो समय उनको लागि रहन्छ उनि उति खुशी हुन्छन । स्टेजमा होस् या स्टुडियोमा उनले गाउने तरिका, स्केल र पिच उस्तै हुन्छ । स्टेज हो क्यारे भनेर जथाभावी गाउन उनको मनले मान्दैन । हाइ पिचमा गीत गाउदा पेट सम्मको बल लगाएर गाउन पर्ने हुन्छ त्यसमाथि प्रत्यक्ष दोहोरी गाउनु भनेको निकै चुनौतिको बिषय हो यी सबै कुरा सकेर फर्कदा लखतरान परेका हुन्छन त्यसैले अहिले किनेर राखेका पुस्तक हरु पनि पढ्न पाएका छैनन् । भर्खरै सरस्वति प्रतिक्षाको ‘नाथिया’ उनलाई उपाहारमा आएको छ अब समय निकालेर त्यो पढ्दैछन उनि । के थाह त्यहि कितावको कथा बाट कुनै गीत पो फुर्छकी –उनि ठट्टा गर्छन ।


प्रस्तुति –दुर्गा पंगेनी